अशोक राईको नेतृत्वमा जसपा सरकारमा जाने पक्का

होमल्याण्ड खबर

२०७९ चैत्र १४ गते, मंगलवार १३:२४ मा प्रकाशित

जनता समाजवादी पार्टी अशोक राईको नेतृत्वमा सरकारमा जाने भएको छ । पार्टी स्रोतले दिएको जानकारीअनुसार राई मन्त्री बन्ने फाइनल भइसकेको छ ।

पार्टीले दुई मन्त्रालय पाउने भएको छ । यस्तै, मधेस प्रदेश सरकारको नेतृत्व पनि जसपाले गर्नेगरी गठबन्धनमा लगभग सहमति जुटिसकेको ती नेताले बताए ।

“पार्टी अशोक राईको नेतृत्वमा सरकारमा जान्छ । हामीले केन्द्रमा दुई मन्त्रालय र मधेस प्रदेश सरकारको नेतृत्व गर्नेछौँ,” ती नेताले भने ।

जसपाले अर्को मन्त्री भने मधेसबाट पठाउने उनले जानकारी दिए । यसरी मन्त्री पठाउँदा राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत नेताहरू दौडमा छन् ।

पार्टीले मन्त्री छान्ने अधिकार भने पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइसकेको छ । स्रोतका अनुसार जसपाले सहरी विकास र शिक्षा मन्त्रालय दाबी गरिरहेको छ ।

ती नेताका अनुसार अध्यक्ष यादव बारा–२ बाट चुनाव लड्ने तयारी गरिरहेका छन् । यहाँ वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।