३ चैत्र २०८२, मंगलवार
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भागमा परेका मन्त्रीको नाम दिन सत्ता गठबन्धनका दलहरूलाई आग्रह गरेका छन् । बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री दाहालले मन्त्री बन्ने नेताहरूको नाम मागेका हुन् ।
दलहरूले पाउने मन्त्रालय संख्या टुंगिए पनि कुन–कुन मन्त्रालय कुन–कुन दलले पाउने भन्नेबारे भने सहमति बनिसकेको छैन । मन्त्रालयबारे सहमति गर्ने सत्ता गठबन्धन दलहरूको बैठक पुनः २ बजे बस्नेगरी टुंगिएको छ ।


प्रधानमन्त्री दाहाल चितवनको पूर्वनिधारित कार्यक्रममा जानपर्ने भएकाले अहिलेलाई बैठक सकिएको र २ बजे पुनः बस्ने जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘धेरै छलफल हुन सकेन । प्रधानमन्त्रीको बाहिर जाने कार्यक्रम भएर छिटै बैठक सकियो । पुनः दुई बजे बस्ने गरी उठेका छौँ,’ श्रेष्ठले भने ।
धेरै विषय टुगिसकेपनि केही विषय टुङ्ग्याउन बाँकी रहेको श्रेष्ठले बताए । । ‘जजसको टुङ्गिएको छैन । उनीहरू दुई बजे आउने कुरा छ, उनीहरूलाई नाम दिन प्रधानमन्त्रीले भन्नुभएको छ’, श्रेष्ठले भने ।
सरकारमा सहभागी हुने पार्टीहरूले आन्तरिक छलफल गरेर नाम दिए बिहीबार साँझ मन्त्रीहरूको शपथ गर्ने तयारी रहेको बताए ।
बुधबार साँझको बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।