एपिएफ लगातार तेस्रो पटक च्याम्पियन

होमल्याण्ड खबर

२०७९ चैत्र १६ गते, बिहीबार १३:३७ मा प्रकाशित

ललितपुर मेयर वुमन्स च्याम्पियन्सिप टी-२० क्रिकेट प्रतियोगिताको विभागीय क्लब एपिएफले लगातार तेस्रो उपाधि जितेको छ। बिहीबार भएको फाइनलमा कोसी प्रदेशलाई ५४ रनले पराजित गर्दै एपिएफले आफ्नो उपाधि यात्रामा ह्याट्रिक पूरा गरेको हो।

टस हारेर पहिले ब्याटिङ गर्दै एपिएफले कोसी समक्ष १ सय ५५ रनको विजयी लक्ष्य प्रस्तु गरेको थियो। जवाफमा कोसी निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०० रनमा समेटिएपछि ५४ रनको जित निकाल्न एपिएफ सफल भयो।

कोसीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाउँदा लकिता राजवंशी २१ रनमा अविजित रहिन्। त्यस्तै अप्सरी बेगम १० रनमा आउट भएकी थिइन। एपिएफका लागि बिनु बुढाले २ विकेट लिंदा रेखा रावल, सोनु खड्का र नेरी थापाले समान १-१ विकेट लिएका थिए।

त्यसअघि टियू मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १५४ रनको उच्च स्कोर बनाएको थियो। एपिएफका लागि कप्तान सिता रानामगरले सर्वाधिक ७९ रनको स्कोर तयार गरिन यो कुनैपनि खेलाडीले ललितपुर मेयर च्याम्पियनसिपमा बनाएको यो सर्वाधिक स्कोर हो।

त्यस्तै इन्दु वर्माले पनि ५१ रनको अर्धशतकीय अविजित इनिङ खेलेकी थिइन। यी दुईले दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गरेका थिए। जुन मेयरकपमा भएको सर्वाधिक उच्च साझेदारी समेत हो। कोसीका लागि सब्नम राईले १ विकेट लिएकी थिइन्।