९ मंसिर २०८१, आईतवार
ओमानले एसिसी प्रिमियर कप अघि घरेलु टोली नेपालसँग अभ्यास खेल खेल्ने भएको छ । क्रिकेट ओमानले एसिसी प्रिमियर कप अघि नेपाल र बहराइनसँग अभ्यास खेल खेल्ने जनाएको छ ।
ओमानले नेपालसँग वैशाख २ (अप्रिल) १५ मा अभ्यास खेल खेल्नेछ । त्यसअघि चैत्र ३० (अप्रिल १३ मा) मा बहराइनसँग अभ्यास खेल खेल्नेछ । नेपालले मुलपानी वा टियु मध्य कहाँ अभ्यास खेल खेल्ने त्यो भने पक्का भई सकेको छैन ।
‘अभ्यासको लागि कुरा भएको छ । अहिले बन्द प्रशिक्षणमै रहेको नेपालको टोलीले नै अभ्यास खेल खेल्ने हो । माथिल्लो मुलपानी वा मिल्यो भने टियुमा खेल्ने कुरा छ । ठ्याक्कै पक्का भएको छैन । आज सबै थाहा हुन्छ’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने ।
नेपालले २१ सदस्य टोली घोषणा गर्दै बन्द प्रशिक्षणमा जारी राखेको छ । पाठक अन्तिम टोली आउन अझै एक दुई दिन लाग्न सक्ने बताए । ‘अन्तिम टोली आउन अझै एकदुई दिन लाग्छ होला । हामीलाई ए टिम पनि बनाउनु पर्ने भएको छ’, उनले भने ।
एसिया कप १८ अप्रिल देखि १ मे सम्म टियु र मुलपानी मैदानमा हुनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहरान छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । ओमान पहिलो पटक एसिया कप खेल्ने सोचमा हुनेछ ।
ओमानको टोली :
जिशान मकसुद (कप्तान), अकिब इलायस (उप-कप्तान), जय ओडेडेरा, कलिमुल्लाह, शोएब खान, कश्याप प्रजापति, अदील शफिक (विकेटकिपर), जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान, नसिम खुसी (विकेटकिपर) र फैज बुट ।