मध्यपुर थिमीमा बिस्केट जात्रा मनाउन ४ दिन बिदा

होमल्याण्ड खबर

२०७९ चैत्र ३० गते, बिहीबार ११:१५ मा प्रकाशित

बिस्केट जात्राको अवसरमा मध्यपुर थिमी नगरपालिकामा चार दिन सार्वजनिक बिदा हुने भएको छ।

विक्रम संवतअनुसारको नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको बिस्केट (बिस्काः) जात्रा परेकाले चैत ३० देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार चैत ३० गते बिहीबार र वैशाख ३ गते बिदा दिने निर्णय गरिएको हो। वैशाख १ गते नयाँ वर्षका अवसरमा संघीय सरकारले नै बिदा दिएको छ। वैशाख २ गते शनिबार परेको छ।

मध्यपुर थिमीमा हरेक नयाँ वर्षमा चैत ३० मा बिस्केट जात्रा सुरु हुन्छ। यहाँ वैशाख २ गते ३२ खट जात्रा भव्यरूपमा सिन्दुर खेलेर बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ।