३ चैत्र २०८२, मंगलवार
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पछिल्लो अभिव्यक्ति र सिंहदरबारको फोहोर नउठाइएको विषयमा सरकारले आक्रोश पोखेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले मेयर बालेनको कदमप्रति आपत्ति जनाउँदै स्थानीय सरकार कानुनअनुसार चल्नुपर्ने बताइन् ।


बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘स्थानीय तह पनि सरकार हो । त्यसले संविधान, नीति, कानुन बुझ्नुपर्छ । त्यसनुसार चल्नुपर्छ ।’
उनले संविधानको अनुसूची ८ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुने स्पष्ट व्यवस्था रहेको बताउँदै जनस्वास्थ्यमाथि खेलबाड गर्न नहुने बताइन् ।
‘अर्को कुनै उद्देश्यपूर्तिका निमित्त, अर्को काम सल्ट्याउनका निमित्त हड्तालतको विषय बनाउनु हुन्न’, उनले भनिन्, ‘जिम्मेवार पदाधिकारीले यस्तो विषयमा बोल्नु र कदम चाल्नुले राम्रो सन्देश दिँदैन । जनस्वास्थ्यमाथिको खेलबाड पनि ठहर्छ । आफूले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन ।’
सुकुम्वासी व्यवस्थापन गर्न संघ सरकारले सहयोग गरेन भन्ने विषयमा बालेनले हड्ताल गरेको आरोप उनको छ ।
एकैपटक डोजर लगेर भत्काउने नभई त्यो कानुनी ढंगले टुंग्याउने विषय भएको मन्त्री शर्माले बताइन् ।