१० दिनसम्म महानगरले फोहोर नउठाउँदा सिंहदरबारले आफै खोज्यो विकल्प

होमल्याण्ड खबर

२०८० बैशाख ४ गते, सोमबार १२:३२ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सिंहदरबार भित्रको फोहोर नउठाउने भनेपछि सिंहदरबार भित्रै फोहोर व्यवस्थापन गर्ने विकल्प खोजिएको छ।

फोहोर ल्याण्डफिल साइटमा लैजान महानगरपालिकाले रोकेपछि वर्गीकरण गरेर सिंहदरबार भित्रै फोहोर व्यवस्थापन गर्न विकल्प खोजिएको हो।

फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्र घिमिरेका अनुसार सिंहदरको ५ टन फोहोरलाई पुनः प्रयोग हुने र कुहिने फोहोर छुट्याएर व्यवस्थापनको काम गरिएको छ । ‘कुहिने फोहोर र पशुका चारा हुने फोहोर छ्ट्याएर फोहोर व्यवस्थापन सुरु गरेका छौं । कुहिनेलाई खाल्डोमा र पशुका चारा हुने फोहोर किसानलाई पठाइरहेका छौं,’ घिमिरेले भने, ‘नकुहिने फोहोरमा पुनः प्रयोग हुनेलाई छुट्याएर व्यवस्थापन गरिरहेका छौं भने पुनः प्रयोग नहुनेलाई सिंहदरबारका केन्द्रीय उद्यानमा डम्प गरिरहेका छौं । ’

त्यस्तै मेयर साहको निर्देशनमा आज (सोमबार) सिंहदरबार भित्रको फोहोर ल्याण्डफिल साइट नलगेको १० दिन भएको छ ।