३ चैत्र २०८२, मंगलवार
सिन्धुपाल्चेकको भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ ।
मंगलबार भएको नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा ६ बुँदे सहमति भएको हो । ७२ सालको विनाशकारी भूकम्पपछि त्यो नाकाबाट निर्यात बन्द थियो ।


नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीचको बैठकमा निर्यात खुलाउने सहमति भएको हो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बैठकमा चीनका उच्च अधिकारी नाकालाई स्थायी रुपमा सञ्चालन गर्न वैशाख १८ (मे १) बाट नाका खोल्न सहमत भएको जानकारी दिए । बैठकमा ६ बुँदे सहमति बनेको प्रजिअ न्यौपानेले बताए ।
यसअघि दुई पटक क्रमशः फागुन ४ र चैत ६ गते नेपालबाट जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको थियो । मितेरी पुल र खासाकै भवनमा सीमा सुरक्षाको विषयमा ‘काउन्टर पार्ट मिटिङ’ बस्दा चीन पक्ष नाका खोल्न सकारात्मक देखिएर सल्लाह सुझाव मागेका थिए ।
मंगलबारको ‘काउन्टर पार्ट मिटिङ’मा सीमाबाट निर्यातसहित कोभिड १९ सावधानी अपनाउने सूचना सप्रेषण, अन्तरदेशीय सीमा नाका सुरक्षा व्यवस्था, अपराध नियन्त्रण र न्यूनीकरण संवेदनशील रहेर गस्ती, थप चेक प्वाइन्टमा कडा जाँच, सूचना आदानप्रदानजस्ता मुख्य विषय थिए ।