३ चैत्र २०८२, मंगलवार
‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ काठमाडौमा सुरु आठौं ऊर्जा सम्मेलन (पावर समिट)को प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आयोजना गरेको आज र भोलि गरी दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री दाहालले उदघाटन गरेका हुन् ।


सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी छन् । साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरूलगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू पनि सम्मेलनमा सहभागी रहेको आयोजकले बताएको छ ।
सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर गर्ने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
सम्मेलनमा नेपालको विद्युत् बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशीय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूलन विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्र सञ्चालन पनि गरिने छ ।
सम्मेलनको संरक्षक ऊर्जा मन्त्रालय र सह–आयोजक लगानी बोर्ड छ ।