३ चैत्र २०८२, मंगलवार
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गर्न असफल भएको छ । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको संवैधानिक परिषद विनानिष्कर्ष सकिएको हो ।
बैठकपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको जानकारी दिए । ‘प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भयो । कुनै निर्णय भएको छैन,’ अध्यक्ष तिमिल्सिनाले भने । अर्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया टुंग्याइने बताए ।


चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । अहिले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।
यसअघि प्रमुख तीन दलका नेताहरुको बालकोटमा बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो ।