३ चैत्र २०८२, मंगलवार
जनता समाजवादी पार्टीका अध्यक्ष तथा हालै सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित सांसद उपेन्द्र यादवले सिके राउतलाई लक्षित गर्दै विखण्डनवादको बीज रोप्नेहरू परास्त भएको बताएका छन् । उनले बुधबार बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपालमा सार्वभौमिकता, अखण्डता र एकतालाई तोडेर विखण्डनवादको बीज रोप्नेहरू परास्त भएको टिप्पणी गरेका हुन्।
यादवले मधेसका जनतालाई जात–जातमा लडाएर विद्वेष फैलाउने प्रयास गर्नेहरू परास्त भएको बताए।


उनले आफूलाई बाहिरिया भनेर प्रचार गरेकोमा आक्रोश समेत व्यक्त गरे । यादवले भने, ‘नेपालमा जन्मिएका कोही पनि नागरिक बाहिरिया हुन्छ? नेपालमा जन्मिएका सबै नेपाली धर्तीपुत्र हुन् । अमेरिका र बेलायतबाट आएका पो बाहिरिया हुन् । नेपालभित्रका नेपाली बाहिरिया हुनै सक्दैनन् । तिनलाई बाहिरिया भन्नु नै गलत सोच र प्रदूषित मानसिकता हो ।’
उनले आफूलाई जिताउनका लागि मत दिने तथा बाराका जनता सबैलाई बधाई र धन्यवाद दिएका छन्। उनले बारा जिल्लालाई विकास र समृद्धिको यात्रामा लैजाने बताए।