बादलका छोराले भने– शरणार्थी प्रकरणमा अनुसन्धानलाई इमान्दारीपूर्वक सहयोग गर्छु

होमल्याण्ड खबर

२०८० बैशाख २१ गते, बिहीबार १२:३५ मा प्रकाशित

एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै भएको ठगी प्रकरणमा अनुसन्धानलाई सघाउने बताएका छन् ।

बिहीवार विज्ञप्ति जारी गर्दै प्रतीकले यो प्रकरणमा आफ्नो नाम जोडिएकोमा खण्डन गर्दै सम्बन्धित निकायले गर्ने अनुसन्धानमा इमान्दारीपूर्वक सहयोग गर्ने बताएका हुन् ।

‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु,’ विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मानस्वरूप अनुसन्धान प्रक्रियालाई इमान्दारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

लामो समयदेखि केही सञ्चारमाध्यमले गलत उद्देश्यका साथ आफूविरुद्ध तथ्यहीन प्रचार गरिरहेको उनको जिकिर छ ।

‘मिडियामा आएका झूटा प्रचारमा प्रतिक्रिया दिने मेरो व्यक्तिगत रुचि रहेन । मविरुद्ध आज पनि गलत अभिप्रायकासाथ तथ्यहीन प्रचार र आरोपहरू लगाउने क्रम जारी छ । राजनीतिक प्रतिशोधजस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढावा दिने हो भन्ने कुरा बुझ्न जरुरी छ,’ उनले भनेका छन्, ‘हामीले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैं न्यायको पक्षमा काम गरेका छौं । जनसरोकारको विषयमा कोहीकसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौं । त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन ।’