सरकारबारे निर्णय गर्न रास्वपाले बोलायो संयुक्त बैठक

होमल्याण्ड खबर

२०८० बैशाख २२ गते, शुक्रबार ०९:५५ मा प्रकाशित

सरकारमा जाने, नजानेबारे सिनर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

पार्टी कार्यालय बसुन्धरामा साँझ ५ बजे बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकको मुख्य एजेण्डा सरकारमा सहभागी हुने÷नहुनेबारे छलफल गरेर निर्णय लिने कार्यसूची रहेको सहप्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

‘त्यस्तै बैठकमा समसामयिक राजनीति परिदृश्यबारे पनि छलफल हुनेछ । गत सोमबार बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा आउन प्रस्ताव गरेको ब्रिफिङ गर्दै त्यसबारे केन्द्रीय कमिटी सदस्य र सांसदहरूसँग राय मागेका थिए।

आजको बैठकले सरकारमा सहभागी हुने या प्रतिपक्षमा बस्ने निर्णय गर्नेछ ।

रास्वपाले सरकारमा सहभागी हुन साविककै मन्त्रालय (उपप्रधानसहित गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य राज्यमन्त्री) पाउनुपर्ने अडान राखिरहेको छ ।

न्यूनतम साझा कार्यक्रम पुनःलेखन हुनुपर्ने, मन्त्रालयका काममा प्रधानमन्त्रीको हस्तक्षेप हुन नहुने शर्त पनि रास्वपाले राखेको छ ।

सत्ता गठबन्धन दलले रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल गर्ने जिम्मा प्रधानमन्त्री दाहाललाई दिएको छ। रास्वपालाई सरकारमा सहभागी गराउन गठबन्धन घटक दल एकीकृत समाजवादी, कांग्रेस सकारात्मक छन् ।