टोपबहादुर रायमाझी २२ दिनभित्र उपस्थित नभए स्वतः निलम्बनमा पर्ने 

होमल्याण्ड खबर

२०८० बैशाख २७ गते, बुधबार १०:२५ मा प्रकाशित

एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी अब २२ दिन भित्र प्रहरीसामु उपस्थित नभए सांसद पदबाट स्वतः निलम्बनमा पर्ने भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव रायमाझीविरुद्ध प्रहरीले गत बुधबार (२० बैशाख) पक्राउ पूर्जी जारी गरेको थियो ।

पक्राउपूजी जारी भएको ३० दिनभित्र पक्राउ नपरे वा सदनमा उपस्थित नभए स्वतः सांसद पदबाट निलम्बनमा पर्ने व्यवस्था संगठित अपराध निवारण ऐन, २०७० मा छ ।

ऐनको दफा ५२ मा फरार रहेका व्यक्तिबारे लेखिएको छ, ‘संगठित अपराध गर्ने कुनै व्यक्ति पक्राउ गर्न नसकेको वा फरार रहेकोमा त्यस्तो व्यक्तिको नाममा पक्राउ पुर्जी जारी भएको ३० दिनको भोलिपल्टदेखि निज अदालतमा उपस्थित नभएसम्म देहायका कुरामा देहायबमोजिम हुनेछ ।’

दफाको उफदफा १(क)मा थप लेखिएको छ, ‘त्यस्तो व्यक्ति नेपाल सरकार, संवैधानिक निकाय वा कुनै सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको संगठित संस्था, स्थानीय निकाय, शैक्षिक वा प्राज्ञिक संस्था वा अन्य कुनै सार्वजनिक संस्थाको बहालवाला पदाधिकारी वा कर्मचारी भए आफ्नो पदबाट स्वतः निलम्बन भएको मानिनेछ ।’