‘अदालतबाट दोषी नहुँदासम्म कसैलाई भ्रष्टाचारी करार गर्न मिल्दैन’: ओली

होमल्याण्ड खबर

२०८० बैशाख २८ गते, बिहीबार १२:४५ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतबाट दोषी नहुँदासम्म कसैलाई भ्रष्टाचारी करार गर्न नमिल्ने बताएका छन् ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय कमिटीको ५ औं बैठकको सुरुवात गर्दै ओलीले भने, ‘ छानबिन र अदालतको प्रक्रिया बाँकी रहँदासम्म धारणा बनाउन सकिँदैन । जबसम्म दोषी करार नहुँदासम्म करार गर्न सक्दैनौं । कोही कसैलाई फसाउन अनुसन्धानको सुई कता धकेल्न खोज्ने त्यस्ता प्रयास पनि भइरहेको देखेका छौं ।’

ओलीले कसैले रोक्न नसक्ने स्थिति आएपछि नक्कली शरणार्थी प्रकरण बाहिर आएको बताए । कसैलाई फसाउन अनुसन्धानको सुई घुमाइएको उनले आशंका गरे ।

‘रोक्न नसकिने गरी यस्तो परिस्थिति निर्माण भयो, भ्रष्टाचार सतहमा आयो । कसैले रोक्न नसक्ने गरी छताछुल्ल भयो । अब जे सुकै गरे पनि यो भ्रष्टाचारको काण्ड दोषीलाई कारवाही गर्नुहुन्छ,’ ओलीले भने ।

देशमा भ्रष्टाचार बढेको भन्दै ओलीले माओवादीको शिविरमा गरिएको भ्रष्टाचारको अनुसन्धान शुरु गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराए ।

बैठकको शुरुमा एमाले महासचिव शंकर पोखरेलले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी गराएका थिए ।