हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै के भने परराष्ट्रमन्त्रीले ?

होमल्याण्ड खबर

२०८० बैशाख ३१ गते, आईतवार १३:५८ मा प्रकाशित

नेपालको प्रतिनिधित्व गरी बंगलादेश पुगेका परराष्ट्रमन्त्री एनपी साउदले छैटौँ  हिन्द महासागर सम्मेलनलाई सम्बोधन गर्दै  स्वस्थ हिन्द महासागर एवं यस क्षेत्रको शान्ति, समृद्ध र लचिलो भविष्यका लागि सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।  शनिबार बंगलादेशको ढाकामा सम्बोधन गर्दै परराष्ट्रमन्त्रीले हिमाल र महासागरबीचको प्राकृतिक सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिएका छन् ।

हिन्द प्रशान्त क्षेत्रमा वास्तविक, सुदृढ र जिम्मेवार रूपमा सबै मुलुकले आपसी सहकार्य गर्नुपर्ने पनि उनको भनाइ छ । परराष्ट्रमन्त्री साउदले हिन्द महासागरको रणनीतिक, आर्थिक र वातावरणीय महत्वमा जोड दिएका छन् ।

उनले नेपालजस्ता भूपरिवेष्टित मुलुकका लागि अन्तर्राष्ट्रिय बजारको प्रवेशद्वारका रूपमा हिन्द महासागर रहेको पनि उनले उल्लेख गरे । साउदले हिमाल, समुद्र, साथै तटीय र दुर्गम प्रदेशको जनजीवनमा जलवायु परिवर्तनको असरलाई सबैले मिलेर सम्बोधन गर्नुपर्ने पनि बताए ।

मन्त्री साउदले ढाकामा शनिबार जापानको विदेश मामिला हेर्ने उपमन्त्री ताकागी केई, सिंगापुरको प्रधानमन्त्री कार्यालय, विदेश मामिलासम्बन्धी मन्त्री डा. मोहम्मद मलिकी बिन उस्मान, अमेरिकी उपसहायक मन्त्री अफरिन अख्तरलगायतसँग साइडलाइन वार्ता गरेको नेपाली दूतावासले जनाएको छ ।