सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छः राष्ट्रपति पौडेल

होमल्याण्ड खबर

२०८० जेष्ठ ५ गते, शुक्रबार १६:५२ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरूप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् ।

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज शुक्रवार सम्बोधन गर्दै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए । राष्ट्रपति पौडेलले भने, ‘अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएका छन् । अर्थतन्त्र स्वाभाविक लयमा फर्कन थालेको छ ।’

उनले पछिल्लो समय राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव परेको र रेमिट्यान्स आप्रवाह बढेको बताए । विदेशी मुद्रा सञ्चिति बढेको, बैंकको ब्याजदरमा तुलनात्मक सुधार, विदेशमा भएका लाखौँ नेपाली सामाजिक सुरक्षामा आबद्ध हुने प्रक्रिया सुरु भएको उनको भनाई छ ।

‘राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न र रेमिट्यान्सलाई औपचारिक मार्गबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढेको छ । सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ’, राष्ट्रपति पौडेलले भने, ‘सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ ।’