प्रहरीले शरणार्थी प्रकरणकाे अनुसन्धान प्रतिवेदन आज बुझाउने

होमल्याण्ड खबर

२०८० जेष्ठ ७ गते, आईतवार ११:१७ मा प्रकाशित

नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असूली गरेको गिरोहबारेको अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउने भएको छ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रस्तावित रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागेकाे हाे ।

पक्राउ परेका १६ जनासहित विभिन्न व्यक्तिसँग बयान तथा सोधपुछको आधारमा प्रहरीले दुई दर्जनभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्षसहित अनुसन्धान प्रतिवेदन बुझाउन लागेको छ।

प्रहरीले आरोपीसँग २६ करोड ८८ लाख बिगो कायम गरी मुद्दा दर्ता गर्नुपर्ने निष्कर्ष निकालेको छ। साथै आरोपीविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध, ठगी तथा किर्तेमा मुद्दा दर्ता गरी हदैसम्मको कारबाहीको माग गर्ने तयारी गरेको छ। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले ५७ दिनदेखि अनुसन्धान गरिरहेको छ।

बुधबारभित्र अदालतमा अभियोग दर्ता गरिसक्नु पर्ने हदम्याद भएकाेले  सरकारी वकिलको कार्यालयले शनिबार पनि दुई आरोपीसँग बयान लिएको थियो। पछिल्लो पटक पक्राउ परेका नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसँग बयान लिएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यैपानेले जानकारी दिए।

नक्कली शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् भने १४ जना फरार रहेको प्रहरीको भनाइ छ।