२ चैत्र २०८२, सोमबार
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरी संगठनलाई बदनाम गराउने तत्व सक्रिय भएको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समयमा आईजीपी कुँवरको नाम जोडेर विभिन्न सञ्चार माध्यममा समाचार आएपछि प्रतिकृया दिँदै आईजीपी कुँवरले यस्तो बताएका हुन् । ‘प्रहरी संगठनलाई बदनाम बनाउन केही समूह सक्रिय भएको देखिन्छ,’ आईजीपी कुँवरले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा दर्ता आफ्नो पालामा भएको भए पनि आफू त्यहाँबाट बढुवा भइसकेको उनले बताएका छन्।


नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टेकनारायण पाण्डेले केशव दुलाल र सानु भण्डारीसँग सामाजिक सञ्जालमा कुराकानी भएको विषय अहिले बाहिर आएको छ । चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनका आन्तरिक विषयहरू र विना प्रमाण र तथ्यविहीन विषयहरू बाहिर ल्याएर विषयलाई अतिरञ्जित बनाउन खोजिएको आईजीपी कुँवरको भनाइ छ ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेलगायत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालगायतका १४ अझै फरार रहेका छन् ।