आरोही बुढामगरलाई सभामुख घिमिरेले दिए बधाई

होमल्याण्ड खबर

२०८० जेष्ठ ११ गते, बिहीबार १५:०३ मा प्रकाशित

दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले बधाई दिएका छन्।

निवासमा सभामुखले बुढामगरलाई नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा गरे। उनले भने, ‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ। तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पु¥याउनुपर्छ। नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन्।’

उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गरिन्।
कार्यक्रममा सांसदहरु महेश बर्तोला र ईश्वरी जीएमले बुढामगरलाई बधाई दिइन्।

सभामुखको बधाईपत्रमा लेखिएको छ

श्री हरि बुढामगर
रोल्पा

रोल्पा जिल्लाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाउनुभएका तपाईंले २०८० साल जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंको प्रेरणा जगाउने विश्वकीर्तिमानले फेरि एकपटक नेपाल, नेपाली र सगरमाथाको नाम संसारभर फैलिएकोमा गौरवानुभूति गरेको छु ।

युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी तपाईंले राख्नुभएको विश्वकीर्तिमान युगौंयुगसम्म नेपाली र आरोहणको क्षेत्रमा रहनुभएकाहरुका लागि प्रेरणा बन्ने विश्वास लिएको छु । तपाईंको लगनशीलता, साहस र आत्मबल नेपाल र नेपालीको लागि प्रेरणा हो ।

शारीरिक तन्दुरुस्ती भएकाहरुले समेत नपाउने तपाईंको उपलब्धि अपाङ्गता भएका व्यक्तिहरुका लागि अभूतपूर्व प्रेरणा बनेको छ । साहसिक खेलमार्फत तपाईंले अपाङ्गता भएका व्यक्तिहरु हेय र दयाका पात्र होइनन् भन्ने सन्देश दिनुभएको छ ।

तपाईंका बाँकी दिनहरु पनि सक्रियतापूर्वक बित्ने अपेक्षा गर्दै सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

देवराज घिमिरे
सभामुख