२ चैत्र २०८२, सोमबार
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले संसद्भित्रको विवाद सिंहदबारमा सहमति हुन नहुने बताएका छन् । आइतबार सङ्घीय संसद् भवन, नयाँबानेश्वरमा बसेको संयुक्त सदनको बैठकलाई सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन् ।
“संसद्भित्रको कुरा सिंहदरबारमा सहमति हुन्छ र यहाँ रेकर्डबाट हटाइन्छ । त्यस्ता सांसदको प्रतिनिधित्व गर्न हामीले खोजेका छैनौँ । जनताले खोजेका छैनन् । जनताले सही प्रतिनिधित्व खोजेको हो,” उनले भनेका छन् ।


उनले थपेका छन्, “जे कुरा संसद्मा उठाइन्छ, त्यसको जवाफ यही संसद्मा हुनुपर्छ । बैठक गर्नुथियो भने यहीँ गर्नुपर्थ्यो । बाहिर निर्णय गरेर संसद्मा सुनाउने होइन, त्यो थलो होइन संसद् ।”
यसअघि सत्तारूढ दल माओवादी केन्द्रका एक सांसदले एमाले नेतृत्वको सरकार हुँदा पशुपतिमा सुनको जलहरी लगाउँदा भ्रष्टाचार भएको भनेर संसद्मा बोलेका थिए । यसपछि शनिवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा सांसदले बोलेको रेकर्डबाट हटाउने सहमति भएको थियो ।