ढाकाविरुद्ध रास्वपा प्रवक्ता ढकालले हाले मानहानि मुद्दा

होमल्याण्ड खबर

२०८० जेष्ठ १५ गते, सोमबार १३:२८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले रास्वपाकै निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानिको मुद्दा दर्ता गराएका छन् ।

ढकालले जिल्ला अदालत, काठमाडौंमा वकिल सुमन न्यौपानेमार्फत मुद्दा दर्ता गराएका हुन् । ‘२ करोढ ८५ लाखको कुरा आउँदा नै मैले मुद्दा हाल्छु भनेको थिएँ । त्यही मुद्दा आज हालेको हुँ । मैले मेरो वकिलमार्फत मुद्दा हालेको हुँ ‘ ढकालले  भने ।

यसअघि श्रेष्ठले आफू समानुपातिक सांसद बन्नका लागि ढकाल र उपसभापति डोलप्रसाद अर्याललाई झन्डै ३ करोड रकम बुझाएको बताएका थिए । विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि श्रेष्ठले त्यसको खण्डन गरेपनि ढकालले भने मुद्दा दर्ता गराएका हुन् । समाचार प्रकाशित भएलगत्तै उनले प्रमाणित गर्न चुनौती दिएका थिए ।

श्रेष्ठ रास्वपाकै निलम्बित समानुपातिक सांसद हुन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ करोड मागेको अडिओ सार्वजनिक भएसँगै उनी कारबाहीमा परेका थिए । त्यसबेला उनले ‘कोर टीम’ सार्वजनिक गर्छु भन्दै धम्की दिँदै आएका थिए ।