वन र वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट

होमल्याण्ड खबर

२०८० जेष्ठ १५ गते, सोमबार १७:५४ मा प्रकाशित

सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले वन, जैविक विविधता र जलाधार व्यवस्थापनमार्फत वातावरणीय सन्तुलन कायम गरिने बताएका छन् । वन सम्पदाको दिगो उपयोग र वनजन्य उद्यम विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाइने उनले बताए ।

यस्तै संरक्षित क्षेत्र र सामुदायिक वनलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उल्लेख छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत सङ्घ, प्रदेश र पालिकाको सहभागितामा चुरे संरक्षणको गुरुयोजना कार्यान्वयन गरिने महतले बताए। यसअन्तर्गत जल र जमिन संरक्षण गर्न बाँस रोपण, रिचार्ज पोखरी, गल्छी, पहिरो नियन्त्रणलगायतका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।