खाणको पक्षमा दर्जन बढी वकिल र पूर्वन्यायाधिवक्ताले बहस गर्ने

होमल्याण्ड खबर

२०८० जेष्ठ २१ गते, आईतवार ११:०५ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुँदै  छ।

हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको अदालती बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस हुन लागेकाे हाे ।

थुनछेक बहसमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाणका पक्षबाट २ जना पूर्वमहान्यायाधिवक्तासहित दर्जन बढी कानुन व्यवसायीले बहस गर्ने भएका छन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाणका पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्दैछन्। खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए।

त्यस्तै, नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाणको पक्षमा बहस गर्दैछन्।  बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्काले खाणको पक्षबाट बहस गर्ने पूर्वमहान्यायाधिवक्ता खातीले जानकारी दिए।

त्यसबाहेक योगेन्द्र अधिकारीसहित  १८ जनाभन्दा बढी अधिवक्ताले खाणको पक्षबाट बहस गर्न नाम टिपाएको खातीले बताए। अघिकारी डेमोक्रेटिक लयर्स एसोसिएसनका वर्तमान अध्यक्ष हुन्।

खातीले बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भए पनि काँटछाँट गरिने बताए।

थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । सरकारी वकिलका तर्फबाट ४ जनाले बहस गर्ने तयारी गरेका छन्।

३० प्रतिवादी भएको र पक्राउ परेका अधिकांश व्यक्तिहरुले २ भन्दा धेरै कानुन व्यवसायी राख्ने तयारी गरेकाले थुनछेक बहस केही दिन लम्बिने देखिएको जिल्ला अदालतले जनाएको छ।

इजलासले समय निर्धारण गरेमा केही सहज र छिटो हुने नभए कम्तीमा १ साता बहस हुने अनुमान जिल्ला सरकारी वकिलको कार्यालयले गरेको छ। करिब १ साता बयानमा लागेको र एक सातामा थुनछेक बहसपछि मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने अदालतले निर्णय गर्नेछ।

अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्ने छन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनुपर्नेछ। जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेमा उनीहरु त्यसविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च जान पाउने छन्। माथिल्लो अदालतले जिल्ला अदालतको निर्णय उल्टाउन सक्छ।