एमाले नेतामाथि आक्रमण गर्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको छ : गृहमन्त्री

होमल्याण्ड खबर

२०८० जेष्ठ २६ गते, शुक्रबार १४:५१ मा प्रकाशित

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा नेताहरूमाथि आक्रमण गर्नेलाई पहिचान गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको बताएका छन् । गैर शान्तिपूर्ण र अराजक गतिविधि गरेका राज्यले कसैलाई छुट नदिने गृहमन्त्री श्रेष्ठले बर्ता ।

प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार प्रतिनिधि सभामा आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेको थियो।

एमाले सांसद योगेश भट्टराईले सरकारले एमाले नेताहरूमाथि सुरक्षा नदिए एमालेले नै सुरक्षाको व्यवस्था मिलाउने चेतावनी दिएका थिए।

वैधानिक तरिकाबाट कोशीको नाम फेरबदल गरिए एमालेलाई आपत्ति नहुने भट्टराईको भनाइ थियो।

गृहमन्त्री श्रेष्ठले प्रमुख प्रतिपक्षी दल एमाले र सभामुख देवराज घिमिरेले पनि ध्यानाकर्षण गराएपछि कोशीमा भइरहेका गतिविधिबारे आफूले सदनलाई जानकारी गराउनु उपयुक्त हुने बताए।

कोशीमा भइरहेका घटनाबारे आफूले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको गृहमन्त्री श्रेष्ठले बताए ।

बिहीबार इलाममा एमाले नेतामाथि र उदयपुरमा कोशीको उपसभामुखमाथि पहिचानवादीहरूले आक्रमण प्रयास गरेका थिए । त्यसको एमालेले संसद्मा विरोध गरेको थियो ।

‘घटनाका दोषीलाई पहिचान गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको छ,’ श्रेष्ठले भने, ‘यस्ता घटनाप्रति सरकार दुःख व्यक्त गर्दछ।’