एशिया कप : ‘हाइब्रिड’ मोडेल स्वीकार, नेपाल र भारतको खेल श्रीलंकामा हुने

होमल्याण्ड खबर

२०८० जेष्ठ २८ गते, आईतवार १२:०७ मा प्रकाशित

लामो समयको अन्योल चिर्दै एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित भएको छ ।

एसियन क्रिकेट काउन्सिलले पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिता गर्ने लगभग टुंगो लगाएको हो ।

उक्त मोडेलअनुसार आयोजक पाकिस्तानलेसमेत भारतसँगको प्रतिष्पर्धा श्रीलंकामा पुगेर खेल्नेछ। भारत-पाकिस्तानकै समूहमा रहेको नेपालले समूह चरणको एउटा खेल पाकिस्तान र अर्को श्रीलंकामा खेल्नुपर्नेछ।

इएसपीएन क्रिकेटइन्फोका अनुसार यसको औपचारिक घोषणा एक हप्तापछि हुनेछ। खेल सेप्टेम्बर १ देखि १७ सम्म गरिने तय गरिएको छ।

भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान गएर खेल्न अस्वीकार गरिरहेको थियो। आयोजक पाकिस्तानले आयोजनाको अधिकार जोगाउन यस्तो मोडेलमा सहमति गरेको हो।

पाकिस्तानले सुरुवातमा युएई वा बंगलादेशमा भारतसँगका खेल खेलाउन सकिने प्रस्ताव राखेको थियो तर मौसमका कारण सम्भव नभएको बताइएको छ।

६ देशबीच हुने प्रतियोगितामा भारत, पाकिस्तान र नेपाल समूह ‘ए’मा रहेका छन्। श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’मा रहेका छन्। प्रतियोगिताभरी जम्मा १३ खेल हुनेछन्।