गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

होमल्याण्ड खबर

२०८० जेष्ठ २९ गते, सोमबार १४:५० मा प्रकाशित

 कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको सहिद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गरिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको हो।

प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय स्थापना गरिने प्रतिबद्धता जनाएको नेकपा एकीकृत समाजवादीका सांसद प्रेमबहादुर आलेले बताए।

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा सांसद आलेसहितको टोलीले प्रधानमन्त्री ‘प्रचण्ड’ र अर्थमन्त्री प्रकाशशरण महतसँग आज भेटघाट गरी कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न माग गरेको थियो ।

यस सम्बन्धमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री डा महतसँगको छलफल भएको र सरकारले सो विश्वविद्यालाय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको सांसद आलेले जानकारी दिए ।  ‘विश्वविद्यालय सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीसँग हाम्रो छलफल भएको छ, ऐन ल्याउँदा विश्वविद्यालय बनाउने गरी ल्याउने तयारीसहितको सहमति भएको छ,सांसद आलेले भनेु,  ‘प्रधानमन्त्रीले आज नै संसद्लाई गर्ने सम्बोधनका क्रममा सो कुराको जानकारी गराउने पनि प्रतिबद्धता गर्नुभएको छ, अब गेटामा विश्वविद्यालय सञ्चालन हुन्छ ।’

सोमबार  कञ्चनपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसका नेताहरूसँग मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री एनपी साउदले पनि  गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने बताएका छन्।

विगत केही दिन यता सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन बजेट विनियोजन गरेकाे भन्दै सुदूरपश्चिममा आन्दोलन भइरहेकाे छ ।

२०७९ साल माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।