मुख्यसचिव फेर्न मन्त्रिपरिषद्को बैठक जारी

होमल्याण्ड खबर

२०८० जेष्ठ ३२ गते, बिहीबार १०:२४ मा प्रकाशित

मन्त्रिपरिषद्को बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । सरकारले आजको मनित्रपरिषद्को बैठकबाट मुख्यसचिव फेर्ने तयारी गरेको छ । असार ३ मा अवकाश पाउन लागेका सचिव बैकुन्ठ अर्याललाई मुख्यसचिव बनाउने गरी अन्तिम तयारी गरेर प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएको हो ।

अर्याल अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा छन् ।

सञ्चार मन्त्रालयबाट उनलाई तानेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राखिएको थियो । अहिलेका मुख्यसचिव शंकरदाश वैरागीलाई भने आर्कषक अफर दिएर अमेरिका पठाउने तयारी गरिएको छ । उनलाई संयुक्त राष्ट्रसंघको स्थायी नियोग प्रमुख बनाएर पठाउन लागिएको छ । त्यहाा रहेका अमृत राईको पदावधी असार १५ मा सकिदैछ । त्यसपछि बैरागीले उक्त जिम्मेवारी सम्हाल्ने गरी निर्णय हुँदैछ ।

बालुवाटार स्रोतका अनुसार, असार २ भित्रै अर्याललाई मुख्यसचिव बनाउन नसके उनी स्वतः अवकाशमा जाने भएपछि उनलाई मुख्यसचिव बनाउन बैरागीलाई मनाइएको थियो । बैरागी र अर्याल आपसमा पनि मिल्ने कर्मचारीभित्र पर्छन । बैरागी पछि अर्याल नै अहिले रहेका सचिवमा वरिष्ठ हुन् । त्यही भएर उनलाई असार २ अगाडी नै मुख्यसचिव बनाउने गरी सरकारले यस्तो निर्णय लिन लागेको हो । हालका मुख्यसचिव बैरागीको भने तीन वर्षे कार्यकाल आगामी असोज १४ गते सकिदैछ । तीन मिहना मुख्यसचिव हुनु भन्दा राष्ट्रसंघको नियोग प्रमुख हुन उनले पनि रुची देखाएका छन् ।

यस अगाडी पनि सोमलाल सुवेदी मुख्यसचिव हुँदा हुँदै एडीवीको बैकल्पिक निर्देशक भएर अमेरिका गएका थिए ।