२ चैत्र २०८२, सोमबार
नेकपा एकीकृत समाजवादीले चाँडै घोषणा हुन लागेको समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले मोर्चा घोषणा हुन अझै केही दिन लाग्न सक्ने ब्रिफिङ गरेका थिए । पहिला मोर्चा आजै घोषणा गर्ने तयारी थियो ।


‘आज हाम्रो पार्टीको सचिवालय बैठकमा समाजवादी मोर्चाका विभिन्न पक्षबारे छलफल भयो, हामीले मोर्चाका लागि लामो समयदेखि तयारी गरेका थियौ’, खतिवडाले भने, ‘त्यसैले समाजवादी मोर्चामा सहभागी हुन निर्णय भयो ।’
पार्टीले आफ्नो तर्फबाट सबै तयारी भए पनि केही पार्टीहरूमा तयारी नपुगेकाले मोर्चा घोषणामा केही ढिलाइ हुन पुगेको बताए । उनले मोर्चाका संरचना जिल्ला र प्रदेशमा समेत बनाउन सकिने सैद्धान्तिक सहमति दलहरुबीच भएको बताए ।
नेकपा एकीकृत समाजवादीसहित माओवादी केन्द्र, जसपा, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई समेत मोर्चामा सहभागी गराउने तयारी छ ।