कालिमाटीका व्यापारीले फाले सडकमा गोलभेंडा

होमल्याण्ड खबर

२०८० असार ३ गते, आईतवार ११:०८ मा प्रकाशित

बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारका व्यापारीहरुले गोलभेंडा सडकमा फ्याकेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेको बताए ।

कालिमाटी थोक तथा खुद्रा बजार समितिका अनुसार आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर विरोध गरिएको छ ।

कालिमाटी बजार बिकास समितिले आइतबारका लागि  सानो गोलभेंडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ । तर,काठमाडौंमा खुद्रा बजारमा प्रतिकिलो न्युनतम ३० रुपैयाँसम्म गोलभेंडा बिक्री भइरहेको छ ।

समितिका अध्यक्ष गीता आचार्यले किसानले गोलभेंडा फ्याँकेको बताए । ‘बजार मूल्य नपाएपछि किसानले गोलभेंडा फ्याकेका हुन् । करिब ३० हजार किलो गोलभेंडा कालिमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ,’ आचार्यले भने, ‘रामकोट, नागार्जुन, थानकोट लगायतका क्षेत्रमा फलेका गोलभेंडा फ्याँकिएको छ ।’

तर, किसानहरुले यति धेरै गोलभेंडा लिएर बजारसम्म नआउने भएकाले गोलभेंडा किसानले नै फ्याँकेको दाबी भने शंकास्पद छ । कालिमाटी तरकारी बजारकै केही व्यापारीहरुले भने तरकारी फ्याँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको दाबी गरेका छन् ।