पहिरोमा फसेकी ९ वर्षीया बालिकाको सकुसल उद्धार, ५ जना अझै बेपत्ता

होमल्याण्ड खबर

२०८० असार ३ गते, आईतवार ११:११ मा प्रकाशित

पहिरोले घर पुर्दा बेपत्ता भएकी पाँचथर फालेलुङ ३ की जुना सावदेनको उद्धार गरिएको छ ।

फालेलुङ ३ खोलाघारीका मनप्रसाद राईकी नाै वर्षीया नातिनी जुना सावदेनको आइतबार बिहान उद्धार गरिएको हो । सावदेनलाई स्थानीय बासिन्दाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए।

मध्य राती घर माथिबाट आएको पहिरोले घर पुर्दा सावदेन पुरिएकी थिइन्र ।  पहिरो आएको थाहा पाएपछि उनका हजुरबुबा मनप्रसाद र हजुरआमा भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फसेकी थिइन्।

अविरल वर्षासँगै आएको बाढीमा पर्दा फिदिम नगरपालिका ४ हेवा खोला र माझिटार क्षेत्रका ५ जना बेपत्ता छन । उनीहरूलाई बाढीले बगाएको आशङ्का गरिएको पाँचथरका प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिए।

मध्यरातमा आएको बाढीले हिलिहाङ,याङवरक,फिदिम र फालेलुङमा दर्जन बढी पुल र संरचना बगाएको छ ।