२ चैत्र २०८२, सोमबार
नेकपा माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि (सोमवार) हुने भएको छ । प्रधानमन्त्री निवास, बालुबाटारमा आज बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
सोमवार राष्ट्रिय सभागृहमा घोषणा सभा गर्ने मोर्चाको तयारी छ । मोर्चा घोषणाको लागि डकुमेन्टलाई अन्तिम रूप दिन काम भइरहेको छ । सकेसम्म सोमवार (भोलि)नै घोषणा गर्ने तयारी छ । केहीगरी भएन भने मंगलबारसम्म मोर्चा घोषणा हुन्छ,उनले भने ।


मोर्चामा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सहभागी हुनेछन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि मोर्चामा सहभागी गराउने तयारी छ ।
तत्काल पार्टी एकता गर्ने वातावरण नभएपछि केही दल मिलेर मोर्चा घोषणा गर्ने तयारी गरेका छन् ।
मोर्चा बनेपछि यो शक्तिको संसदमा ५४ सिट पुग्नेछ । जसले सत्तारूढ दल कांग्रेस र प्रतिपक्षी एमालेलाई पनि दबाब दिने मोर्चाको उद्देश्य छ ।
तत्काल कम्युनिष्ट पार्टीबीच एकता नहुने अवस्थामा समाजवादी मोर्चा बनाउने र स्थिति परिपक्व बन्दै जाँदा पार्टी एकतासम्मै पुग्ने दलहरूको तयारी छ ।