२ चैत्र २०८२, सोमबार
पछिल्ला ३ दिनदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले अस्तव्यस्त बनेको पूर्वी पहाडका जिल्लाहरुमा तत्काल उहार र राहत पुर्याउन सांसदहरुले माग गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सोही क्षेत्रबाट प्रतिनिधि गर्ने सांसदहरुले उद्धार तथा राहतका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन्।
संखुवासभाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद दीपक खड्काले तत्काल उद्दारको कार्यमा तीव्रता दिन माग गरेका छन्।


‘संखुवासभा, पाँचथर, तेह्रथुम, ताप्लेजुङ लगायत पूर्वी पहाडमा गएराति अभिरल वर्षाका कारण ठूलो क्षति भएको छ। विभिन्न ठाउँमा मान्छे हराइरहेको सूचना आएको छ। क्षतिग्रस्त जिल्लामा नेपाल सरकारले तत्कालै उद्दार, राहात र सहयोग पुर्याओस् र क्षतिपूर्ती उपलब्ध गराउन सरकारलाई विनम्र आग्रह गर्छु,’ सांसद खड्काले भने।
यस्तै, ताप्लेजुङबाट निर्वाचित नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले ताप्लेजुङका विभिन्न पालिकाहरुमा पुगेको क्षतिबारे उल्लेख गर्दै उद्दारको कार्यमा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।
‘ताप्लेजुङका सिदिङ्वा, सिरीजङ्घा, मैवाखोला, आठराइ–त्रीवेणी, फक्ताङलुङ, मिरिङ्देन गाउँपालिकाहरु लगायतका ठाउँहरुमा बाढी पहिरोका कारण दर्जानौं घरहरु बेपत्ता भएका छन्। ताप्लेजुङमा अहिलेसम्म ५ जना बेपत्ता छन्। त्यस्तै जिल्लाको दोस्रो ठूलो बजार दोभानका २ दर्जन घरहरु तमोरमा आएको बाढीले जोखिमपूर्ण अवस्थामा रहेका छन्। त्यस्तै, मेची राजामार्गमा पर्ने पाँचथरको हेवा खोला माथिको पुल बागाएर सम्पर्क टुटेको छ,’ सांसद भट्टराईले भने।
ताप्लेजुङ्ग जोड्ने मेची राजमार्ग बाहेक अन्य राजमार्गहरुमा पनि क्षति पुर्याएकाले सम्पूर्ण आवागमन बन्द भएको सांसद भट्टराईले उल्लेख गरे। सांसद भट्टराइले सरकारलाई राहत तथा उद्धारको कार्यमा गम्भीर भएर लाग्न माग गरेका छन्।
‘म सभामुखमार्फत् नेपाल सरकारको यस विषयमा गम्भीर ध्यानाकर्षण गर्न चाहान्छु। यो स्थितिको सम्पूर्ण जानकारी सदनलाई होस् भन्न चाहान्छु। विपत्सँग सम्बन्धको भएकोले गृहमन्त्रीले विपत्को जानकारी यो सदनमा गर्नुपर्छ भन्ने सभामुखमार्फत् गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु। पुल, सडकहरुमा क्षति पुगेको छ। त्यसको अवस्था के छ? भौतिक पूर्वाधार मन्त्रीले यस विषयमा सदनमा जानकारी दिन माग गर्छु,’ सांसद भट्टराईले भने।
सांसद भट्टराईले आवागमन ठप्प भएको ताप्लेजुङको सवारी आवागमनलाई खुलाउन तत्कालै बेलीब्रीजको व्यवस्था गर्न पनि माग गरेका छन्।
यस्तै, माओवादी केन्द्रका सांसद रामकुमार राईले पनि पूर्वी पहाडमा पुगेको क्षतिका सन्दर्भमा सरकारले चाँडो राहत तथा उद्धारमा लाग्नुपर्ने बताए।
‘विपत्मा परेकालाई चाँडोभन्दा चाँडे उद्धार गर्न, बेपत्ता भएकाको चाँडोभन्दा चाँडो उद्धार गर्न सरकारसँग माग गर्छु,’ सांसद राईले भने।
यस्तै, रास्वपा सांसद अशोक कुमार चौधरीले पनि खोजी कार्यमा ढिलाइ भएकोले हेलिकोप्टरमार्फत् उद्दार गर्न माग गरेका छन्।
‘बेपत्ता भएकाको खोजी कार्यमा ढिलाइ भएकोले अविलम्ब हेलिकोप्टरसहित उद्दार कार्यमा लाग्न र ताप्लेजुङ्गमा अति आवश्यक सामाग्रीको यथोचित व्यवस्थापन गर्न अनुरोध गर्दछु,’ सांसद चौधरीले भने।