‘अखण्ड भारत’ नक्साबारे वास्तविकता बुझ्न दूतावासलाई निर्देशन

होमल्याण्ड खबर

२०८० असार ५ गते, मंगलवार १२:०३ मा प्रकाशित

सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा वास्ताविकता बुझेर रिपोर्ट पठाउन दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन दिइएको जानकारी दिए ।

भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको छ । नक्सा सार्वजनिक भएपछि नेपालमा भारतको आलोचना हुँदै आएको छ ।

प्रतिपक्षी राजनीतिक दल, सामाजिक संघसंस्था र प्रतिष्ठित व्यक्तिहरूले सरकारलाई भारतको प्रतिवाद गर्न दबाब दिइरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको क्रममा नक्साको विषयमा गम्भीरतापूर्वक प्रश्न नउठाएको भन्दै संसदमा समेत आलोचना भएको थियो ।

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा यो विषय उठाएका थिएनन् ।