२ चैत्र २०८२, सोमबार
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शनिबारयता आएको बाढी पहिरोबाट भएका क्षतिबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री श्रेष्ठले शनिबारयता आएको बाढी पहिरोबाट १० जनाको मृत्यु भएको जनकारी दिए । यस्तै, २६ जना बेपत्ता भएको उनको भनाइ थियो ।


शनिबार रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी क्षति भएको छ । गृहमन्त्री श्रेष्ठका अनुसार बाढी पहिरोबाट ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको छ ।
गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड ०७७ अनुसार मृतकको परिवारलाई दुई लाख रुपैयाँ राहत दिने र एकै परिवारको एकभन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने जानकारी दिए ।
घरबारविहीन परिवारलाई तत्काल गुजाराका लागि १५ देखि २० हजार रुपैयाँ दिने व्यवस्था पनि उक्त मापदण्डमा छ ।