ललिता निवास प्रकरणमा विष्णु पौडेलका छोरामाथि अनुसन्धान जारी छ : सीआईबी

होमल्याण्ड खबर

२०८० असार १३ गते, बुधबार १३:२८ मा प्रकाशित

सरकारी कागजात र प्रमाणहरु बेपत्ता पारी तथा कीर्ते गरी बालुवाटारस्थित ललितान निवासको ११३ रोपनी जग्गा व्यक्तिको बनाउने प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सर्वोच्च अदालतका न्यायाधीशसहित राजनीतिक दलका नेता र नेताका आफन्तहरुमाथि पनि अनुसन्धान भइरहेको जनाएको छ।

बालुवाटार प्रकरणमा भइरहेको अनुसन्धानबारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी साझा गरेको सीआईबीले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन पौडेलमाथि पनि अनुसन्धान भइरहेको दाबी गरेको हो।

यसअघि जिल्ला सरकारी वकिल कार्यालयले फिर्ता पठाएको फाइल पुन: ‘खोलेर’ ललिता निवासको जग्गा हिनामिनामा भएको कीर्तेबारे अनुसन्धान अगाडि बढाएको सीआईबीले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो। सीआईबीले निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितलाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये ३ जना भने यसअघि नै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा जारी गरेको अन्तरिम आदेशानुसार रिहा भएका छन्।