२ चैत्र २०८२, सोमबार
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयले पनि सरकारी स्कूल सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने जनाएका छन् ।
संस्थागत (निजी) विद्यालयले शिक्षकहरूलाई कानुनसम्मत तलब नदिएको गुनासो आएपछि मेयर शाहले शिक्षकहरूको तलब सार्वजनिक गर्दै सोही अनुसार व्यवस्था गर्नु पर्ने जनाएका छन् ।


उनले संस्थागत विद्यालयलाई सामुदायिक सरह तलब सुविधा दिन पनि निर्देशन दिएका छन्।
प्रमुख साहले शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख भएकाले सोही अनुसार गर्न निर्देशन दिएका हुन्।
‘काठमाडौं महानगरपालिकामा संस्थागत ९निजि० विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ। सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ,’ प्रमुख साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।