२ चैत्र २०८२, सोमबार
ललितानिवास जग्गा हिनामिना प्रकरणका आरोपितहरू प्रहरीले निगरानी बढाएपछि फरार भएका छन् । सरकारी अनुसन्धानकर्ताले दोष देखाएका चार सय ६ आरोपित मध्य प्रहरीले निगरानी राखेका अधिकांश आफ्ना मोवाइल नलाग्ने बनाएर सम्पर्कविहीन बनेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गर्ने गरी निगरानी राखेकाहरू मोबाइल अफ गरेर फरार भएका हुन् । उनीहरू मोबाइल अफ गरेर फरार भएपछि ट्रेसिङ गर्दै गाह्रो भइरहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।


ललिता निवास प्रकरणमा सिआइबीले एक पूर्वउपप्रधानमन्त्री, एक पूर्वमन्त्री, तीन पूर्वसचिवसहित अधिकृत तहभन्दा माथिका मात्रै ३९ जनालाई निगरानन्ीमा राखेको छ । उनीहरूमध्ये अधिकांश सम्पर्कविहीन भइसकेका सिआइबीमा कार्यरत एक अधिकृतले बताए ।
प्रहरीले निगरानीमा राखेका तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठ, भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यात र भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव दिनेशहरि अधिकारी फरार भएको प्रहरी अधिकृतहरू बताउँछन् ।
उनीहरू मात्रै होइन भूमिसुधार मन्त्रालयका तत्कालीन सहसचिवद्वय जितबहादुर थापा र तेजराज पाण्डे, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक अशोकनाथ उप्रेती र भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक पुष्पराज उपाध्याय पनि मोबाइल अफ गरेर फरार भएका प्रहरी अधिकारीहरू बताउँछन् ।