माओवादीका मन्त्री फिर्ता बोलाएर सीकेलाई सरकारमा सहभागी गराउने तयारी

होमल्याण्ड खबर

२०८० असार १७ गते, आईतवार १२:३६ मा प्रकाशित

सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गरेका छन्।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा दाहालले राउत नेतृत्वको पार्टीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका हुन् ।

भेटमा प्रधानमन्त्रीले आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि जनमतलाई सरकारमा समेट्ने आश्वासन दिएका छन्।

पछिल्लो समय जनमतलाई सरकारमा समेट्न ढिला गरेकाले प्रचण्डसँग सिके राउत रुष्ट छन् ।

प्रधानमन्त्री प्रचण्डले गत पुस ११ गते शपथ लिए लगत्तै जनमतले कृषि र उद्योग मन्त्रालय मागेको थियो ।

पहिलो चरणमा जनमतले खानेपानी मन्त्रालय पाएकाले अब्दुल खानलाई मात्रै पठायो । प्रचण्डले तत्काल खानेपानी मन्त्रालय लिए पनि पछि अर्को मन्त्रालय फेर्ने बचन दिएका थिए ।

तर,अन्तिममा खानेपानी मन्त्रालयबाट सुरुवा नहुनुका साथै थप अर्को मन्त्रालय नपाएपछि खानले गत चैत १७ गते राजीनामा दिएका थिए । जनमत पार्टीका मन्त्री खानले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो ।