सुरक्षाको माग गर्दै जिल्ला अदालत ललितपुरका न्यायाधीश र कर्मचारी सर्वोच्चमा

होमल्याण्ड खबर

२०८० असार १९ गते, मंगलवार १३:३० मा प्रकाशित

सुरक्षाको माग गर्दै जिल्ला अदालत ललितपुरका न्यायाधीश र कर्मचारी सर्वोच्च अदालत पुगेका छन्। कानुन व्यवसायीहरूबाट आफूहरू असुरक्षित रहेको भन्दै कार्यालयको काम छोडेर उनीहरू सर्वोच्च पुगेका हुन्।

कर्मचारीहरूले आफूहरुको जिउधनको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा नफर्कने अडान लिएका छन्। न्यायाधीश र कर्मचारी अदालत छाडेर गएपछि ललितपुर जिल्ला अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ।

अहिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसँग  छलफल भइरहेको छ। कानुन व्यवसायीहरूहरुबाट आफूहरूलाई धम्की आएको र कार्यालयमा बसेर कामकाज गर्नसक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ।

कानुन व्यवसायीलाई झुट्टो आरोपमा फसाइएको भन्दै नेपाल बार एसोसिएसनले आन्दोलनका कार्यक्रम जारी गरेको छ। ललितपुर बार एसोसिएसनका सचिव छोनम मोक्तानका अनुसार अदालतका कामकारबाही र सेवालाई असर नपर्नेगरी अदालत परिसरमा दैनिक १ घन्टा धर्ना कार्यक्रम गर्ने जानकारी दिएका छन्। उनका अनुसार अर्को सूचना नभएसम्म  प्रत्येक दिन दिउँसो १ बजेदेखि २ बजेसम्म विरोधस्वरुप धर्ना कार्यक्रम गरिनेछ।

यसअघि सोमबार पनि कानुन व्यवसायीहरूले जिल्ला अदालत ललितपुरमा विरोध सभा गरेका थिए।

ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीहरू आन्दोलित भएका छन्। गत बुधबार जिल्ला अदालतकी नायब सुब्बा तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले कुटपिट गरेका  थिए।

उक्त घटनापछि तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्। जाहेरपछि प्रहरीले लामिछानेलाई पक्राउ  गरेको छ।