लुम्बिनीमा एमालेको माग पूरा गर्ने सहमतिपछि प्रदेशसभा बैठक बस्दै

होमल्याण्ड खबर

२०८० असार २० गते, बुधबार ०९:४८ मा प्रकाशित

लुम्बिनी प्रदेशमा बजेटका विषयमा असन्तुष्टि जनाउँदै सदनअवरुद्ध गर्दै आएको नेकपा एमालेका माग सम्बाेधन गर्न सरकार तयार भएसँगै प्रदेश सभा बैठक सञ्चालन हुने भएको छ।

गएराति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्ली चौधरीले बुधवार सदनमा सम्बोधन गर्ने भएसँगै  प्रदेशसभा बैठक सञ्चालन गर्ने सहमति भएको हो ।

आज प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

बैठकको सुरुमै मुख्यमन्त्री चौधरीले विपक्षी दलले उठाएका मागमा विशेष सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। त्यसपछि मन्त्रालयगत विनियोजन विधेयकमाथि दफावार छलफलमा उठेका प्रश्नको अर्थमन्त्री धनबहादुर मास्कीले जवाफ दिने कार्यसूची छ।

सचिव मगरका अनुसार अर्थमन्त्रीको जवाफपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने र आजै बस्ने दोस्रो बैठकले आर्थिक विधेयक पारित गर्ने सम्भावति कार्यसूची छ।

असार १ गते ल्याएइकाे बजेटका विषयमा छलफल गर्न १३ गतेदेखि बसेको सदन प्रमुख विपक्षी दल एमालेले लगातार अवरोध आएको थियो ।