२ चैत्र २०८२, सोमबार
सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको बताएकाे छ।
प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने नपर्ने निष्कर्ष निकालेको छ।


‘प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्ने प्रकारका कुरा भन्यो भनेर संसदमा हिजो अवरोध गरेको र अवरोध मात्र होइन, प्रमुख प्रतिपक्षी दलले संसदीय दलको बैठकमा प्रधानमन्त्रीको राजीनामा नै माग्ने निर्णय गरेको भन्ने कुरा आयो,’ बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भने, ‘उहाँहरूले गरेको यो निर्णय असंसदीय निर्णय हो । संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति छ भने संसदमा आवाज उठाउन पाउँछ ।’
मिटर ब्याज पीडितहरूलाई न्याय दिन र सुशासनका लागि सरकारले गरिरहेको कामलाई ओझेलमा पार्न गरिएको षडयन्त्र भएको पनि निष्कर्ष निकालेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सार्वजनिक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक–पटक दिल्ली धाएको’ अभिव्यक्ति दिएका थिए। यससँगै प्रमुख प्रतिपक्ष दल एमालेले बुधबार संसद्का दुवै सदनमा विरोध जनाउँदै प्रधानमन्त्रीकाे राजीनामा मागेकाे थियाे ।