प्रतिनिधिसभाको बैठक आइतबारसम्मलाई स्थगित

होमल्याण्ड खबर

२०८० असार २२ गते, शुक्रबार १५:४२ मा प्रकाशित

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेर आज पनि संसद अवरोध गर्ने देखिएपछि बैठक बस्दै नबसी आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो । आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो ।

शुक्रबारको राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको एमालेको प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको थियो । एमालेको अडानका कारण प्रतिनिधिसभाको बैठक अगाडि जान नसक्ने भएपछि सभामुखकै आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।

सभामुखमा प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुखले भनेका छन्, ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला ।’

संसद अवरुद्ध हुँदा विधेयक मिटरब्याज सम्बन्धी विधेयक पास हुन नसक्नु राम्रो नभएको उल्लेख गर्दै उनले दलहरुको ध्यानाकर्षण गरेका छन । उनले भनेका छन्, ‘तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजिकरण गर्न म तयार छु । पर्सिसम्ममा सहमति गर्नुहोला ।’