२ चैत्र २०८२, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका हुन् ।


उनले जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरुसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने बताए । उनले पुरस्कृत प्रतिभाहरुको प्रेरणाबाट यस क्षेत्रमा लागिरहनुभएका अन्य श्रष्टाहरुलाई पनि आफ्नो आफ्नो क्षेत्र तथा विधाबाट राष्ट्रलाई योगदान गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।
राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनाशिलताले देशको सर्वोपरी विकास समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने बताए ।
उनले भने, ‘राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनाशिलताले देशको सर्वोपरी विकास समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्दछ । यो पुरस्कारबाट पुरस्कृत प्रतिभाहरुको प्रेरणाबाट यस क्षेत्रमा लागिरहनुभएका अन्य श्रष्टाहरुलाई पनि आफ्नो आफ्नो क्षेत्र तथा विधाबाट राष्ट्रलाई योगदान गर्न प्रोत्साहन मिल्नेछ । जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्यनिर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरुसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा सायदै कसैको विमति नहोला ।’