काम गरेकाे पैसा नपाएपछि अर्थमन्त्रीको राजीनामा माग्दै सडकमा ठेकेदार

होमल्याण्ड खबर

२०८० असार २९ गते, शुक्रबार ११:१४ मा प्रकाशित

असार मसान्तमा पनि रकम भुक्तानी रकम नपाएकाे भन्दै निर्माण व्यवसायीले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन्।

उनीहरूले विनाबजेटको आयोजना टेण्डर गरेर सरकारले भुक्तानीका लागि आफूहरू सडकमा आउन बाध्य भएको भन्दै आक्रोश पोखेका छन्।

सरकारविरुद्ध बिहानै माइतीघरमा ठेकेदारहरू धर्नामा निस्किएका छन् । उनीहरूले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामासमेत मागेका छन् ।

महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीले गरेको कामको भुक्तानीका लागि अनुनय गर्दा अर्थमन्त्रीले घरको अंश काटेर दिनुपर्नेजस्तो व्यवहार देखाएको बताए।

काम गरेको बिल पेश गर्दा पनि भुक्तानी राेकिएकाे उनकाे भनाइ छ ।

मूल्यवृद्धि निरन्तर भइरहेको भन्दै आयोजनाको खर्च समायोजन नगरेकोमा पनि उनीहरूको गुनासो छ । बैंक, सप्लायर्स, कामदार जताततै उधारो बाँकी हुँदा आफूहरूले आत्मदाह गर्नुपर्ने अवस्था आइलागेको उनीहरूले बताएका छन् ।