खर्च कटौतिको नाममा सेनाको अस्तित्व खतम पार्ने काम नगरौं : राजेन्द्र लिङ्देन

होमल्याण्ड खबर

२०८० श्रावण १० गते, बुधबार १६:४७ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद राजेन्द्र प्रसाद लिङदेनले खर्च कटौतीको नाममा सेनाको अस्तित्व खतम पार्ने काम नगर्न आग्रह गरेका छन्। उनले आन्तरिक सुरक्षालगायत  देशको सम्पूर्ण आयाममा महत्वपूर्ण योगदान पुर्‍याएको सेनाको औचित्यमाथि किन प्रश्न उठिरहेको छ भन्दै प्रश्न गरे।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा सांसद लिङ्‍देनले नेपालको एकीकरणदेखि  विश्वमा शान्ति स्थापनामा नेपाली सेनाको महत्वपूर्ण योगदान रहेको भन्दै कुनै पनि हालतमा सेनाको संख्या घटाउन नहुने जिकिर गरे।

उनले यो विषयमा रक्षामन्त्रीले सदनमा जानकारी गराउन समेत माग गरे। उनले भने,’असमयमा, बेमौसमी ढंगले नेपाली सेनाको संख्या कटौतीको विषयमा, सेनाको औचित्यमाथि प्रश्न उठाइएको छ। यो कसका लागि, के प्रयोजनका लागि हो, कसको खुसीका लागि। यसको जवाफ रक्षामन्त्रीले सदनमा गराउनुपर्छ। ‘

नेता लिङ्देनले खर्च कटौतिको नाममा सेनाविहीन राज्यको परिकल्पना बाहिरको विषय भएको बताए।

सेनालाई रकमको समस्या परेको हो भने खर्च कटौति गर्ने अन्य उपायहरू रहेको उनको भनाइ छ। ‘४० हजारको जनप्रतिनिधि किन चाहियो। प्रदेश किन चाहियो। माथिल्लो सदनमा किन दुईसभा चाहियो,’उनले भने,’ एउटा संसद राखौं। केन्द्र राखौं। बलियो स्थानीय तह राखौं। खर्च कटौती हामीबाट सुरू गरौं।’

उनले सेनालाई सुदृढ र  बलियो बनाउन आवश्यक रहेको बताए। नेता लिङ्देनले

सुन प्रकरणमा जरैदेखि अनुसन्धान हुनुपर्ने बताए।  ‘केही मानिसहरूको नाम पनि अरु प्रकरणमा आएको छ। त्यसमा सशक्त ढंगले अनुसन्धान अघि बढाउनुपर्छ,’उनले भने,’झारा टार्ने काम नगरियोस्।’