रेडी ट्रेडर्सले २ महिनामा आयात गरेका सबै ‘ब्रेक शु’ सुनकै भएको पुष्टि

होमल्याण्ड खबर

२०८० श्रावण ११ गते, बिहीबार १०:४४ मा प्रकाशित

 सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदामबाट बुधवार राजश्व अनुसन्धान विभागले बरादम गरेका ११ सय ६२ थान ब्रेक शु मध्ये अधिकांशबाट तस्करले सुन झिकिसकेको पाइएको छ ।

प्रारम्भिक परिक्षणमा आधाभन्दा धेरै ब्रेक शुबाट तस्करले सुन झिकिसकेको पाइएको हो।  योसँगै सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिले पछिल्लो २ महिनाभित्र आयात गरेको सबै ब्रेक शु सुनकै भएको पुष्टि भएको छ ।

गोदामबाट ब्रेक शुबाट सुन पगाल्ने उपकरण एक थान र सुन तौलिने तुलो समेत भेटिएको विभागले जनाएको छ । सोह्रखुट्टेको गोदामबाट ६६ वटा कार्टुनमा ११ सय ६२  थान ब्रेक शु बरामद भएको थियो । जसमा हरेक प्याकेटमा १० थानका दरले ब्रेक शु थियो ।

तर, सोह्रखुट्टेमा बुधबार बरामदमध्ये अधिकांशमा  एउटा पातो ब्रेक शु झिकिएको अवस्थामा भेटिएको छ ।
२०७९ चैत १९ गते खुलेको कम्पनी रेडी ट्रेडर्सले २ साउनसम्म १ हजार ३१७ किलो ब्रेक शु आयात गरेको देखिएको छ। बुधबार विभागले गोदाममा छापा मारेको थियो ।

राजश्व अनुसन्धान विभागले बुधबार काठमाडौंको सोह्रखुट्टेमा रहेको कम्पनीको गोदाममा छापा मार्दा थप ११ सय ६२ थान ब्रेक शु बरामद भएको छ । जसमध्ये प्रारम्भिक परिक्षणमा आधाभन्दा धेरै ब्रेक शुबाट तस्करले सुन झिकिसकेको पाइएको हाे ।

‘बरामद ब्रेक शु ल्याब परीक्षणका लागि भन्सार विभाग पठाइएको छ तर गोदाममै सुन छुट्टयाएर तस्करले लगेको अवस्थामा फुक्लेका धेरै ब्रेक शु भेटियो,’ विभाग स्रोतले  भन्यो ।