१ चैत्र २०८२, आईतवार
नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ।
कांग्रेसले दुई चरणमा केन्द्रीय सदस्यलाई जिल्लामा खटाउन लागेकाे हाे।


पार्टी केन्द्रीय समितिको निर्णय अनुसार दुई चरणमा गरिने कार्यक्रम फरक फरक प्रकृति र उद्धेश्यका रहेका छन्।
पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र राष्ट्रव्यापी अभियानका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागिएको हाे ।
सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्मको समय तोकिएको छ। यस अवधि पार्टीको आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरुले जिम्मेवारी निर्वाह गर्नेछन् ।
पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्य पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्ने बताइएकाे छ।
महामन्त्री गगन थापाका अनुसार अपूर्ण रहेको कार्यसमिति भएमा पूर्णता दिने, बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको रहेछ भने रिपोर्ट दिन लगाउने जस्ता कार्य केन्द्रीय सदस्यहरुले गर्नेछन्।
केन्द्रमा बनेको जस्तै वार्षिक क्यालेण्डर बनाउन लगाउने जिम्मेवारी पनि केन्द्रीय सदस्यको हुनेछ । ‘ भ्रातृ संस्था, शुभेच्छुक संस्था, विभागलाई सबैलाई पूर्णता दिन लगाउने काम गर्नुहुन्छ । नयाँ क्रियाशील वितरण, नवीकरण, अनलाइन प्रणाली जानकारी गराउने र कार्यान्वयनमा अघि बढाउने काम हुन्छ,’ महामन्त्री थापाले भने ।
केन्द्रीय समितिले प्रत्येक गाउँ वा नगर समितिले ‘सेवा दल’ बनाउने निर्णय गरेको थियो । सेवा दलको कार्यविधि जिल्ला खटिने प्रतिनिधिले केन्द्रबाट लगेका हुन्छन् । त्यस अनुसार सेवा दल गठनको प्रक्रिया सुरु गराउन सहजीकरण केन्द्रीय सदस्यहरुले गर्नेछन् ।
दोस्रो चरणको अभियान भदौ १० देखि २४ गतेका लागि तोकिएको छ । जसअनुसार नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले प्रत्यक्ष कुराकानी गर्ने र उनीहरुको कुरा सुन्ने काम गर्नेछन्।