सुन तस्करी प्रकरण: ठमेलको होटल भियनामा छापा, एक जना पक्राउ

होमल्याण्ड खबर

२०८० श्रावण १४ गते, आईतवार १२:०४ मा प्रकाशित

 एक सय किलो सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटेल भियनामा छापा मारेको छ।

विभागको टोलीले आइतबार बिहान भियनामा छापा मारेर केही कागजात र सामग्रीहरू बरामद गर्नुका साथै एक जना नेपाल मूलका बेल्जिनिमका नागरिकलाई पक्राउ गरेको एक अधिकारीले बताएका छन्।

हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको आशङ्का पछि विभागले होटेल भियनामा छापा मारेको हो।

विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरि सकेको अवस्थामा सिनामंगलबाट एक क्विन्टल सुन बरामद गरेको थियो।विभागले ट्याक्सी चालकसहित रेडी ट्रेड प्रा. लि. नामक कम्पनीका सञ्चालक दोलखाका दिलीप भुजेललाई पनि विभागले पक्राउ गरेको छ। तर भुजेललाई तस्कर समूहले २० हजार रुपैयाँ दिएर ‘फर्जी’ सञ्चालकको रूपमा खडा गरेको अनुसन्धानका क्रममा खुलेको छ । यससँगै प्रकरणमा एक जना चिनियाँ नागरिकसहित भारतीय मूलका तिब्बतीय नागरिक समेत पक्राउ परेका छन्।हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।