सार्वजनिक खरिद अनुगमन कार्यालयमा निर्माण व्यवसायीकाे धर्ना

होमल्याण्ड खबर

२०८० श्रावण १४ गते, आईतवार १४:३९ मा प्रकाशित

निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा धर्ना दिएको छ।

आइतबार निर्माण व्यवसायीहरुले सरकारले आयोजनाहरुको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा धर्ना दिएका हुन्।

व्यवसायीहले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर्नुपर्ने,सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने ,जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने लगायतका माग राखेर बिरोध प्रदर्शन गरेका हुन् ।

महासंघले भोलि प्रधानमन्त्री निवास अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर धर्ना दिने बताएको छ ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुका मागहरुलाई प्रधानमन्त्रीदेखि मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरुलाई ध्यानाकर्षण गराउँदा समेत माग सम्बोधन नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए ।

निर्माण व्यवसायीले सरकारले निर्माण सम्पन्न भएको कामको समेत भुक्तानी नदिँदा मजदुरलाई ज्याला दिन नसकिएको गुनासो गरेका छन् ।

अध्यक्ष सिंहले अर्थमन्त्रीले गत आर्थिक वर्षको बजेटमा नै जेठ १५ भित्रै माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएकाले आन्दोलनका कार्यक्रम स्थिगत गरेर बसेको तर सरकारको प्रतिवद्धता अनुसार बजेटमा सम्बोधन नभएको बताए ।